Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आर्थिक बृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस वर्ष कृषि उत्पादनमा सुधार, बिजुली उत्पादनमा वृद्धि र सुध्रिँदै गएको पर्यटन क्षेत्रलगायत कारण आर्थिक वृद्धिमा सुधार हुने एडीबीको प्रक्षेपण छ । सरकारले भने चालु आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । 

‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्नेछ,’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले भने । गत आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा भने एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले भने गत वर्ष ३.८७ प्रतिशत आर्थिक वृद्धिदर भएको अनुमान गरेको छ ।

एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (सेप्टेम्बर २०२४) का अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सकिएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहनेछ । विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ । पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरूलगायत गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।

लचिलो मौद्रिक नीति, पुँजीगत बजेट खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार, थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गाजस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा एडीबीको छ । ‘भू–राजनीतिक द्वन्द्वलगायत कारणले अन्तर्राष्ट्रिय अर्थतन्त्रहरू प्रभावित रहेको अवस्थामा भने नेपालले प्राप्त गर्दै आएको रेमिट्यान्समा असर पर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘विश्व अर्थतन्त्रमा समस्या आएमा नेपालमा पर्यटकहरू पनि घट्ने देखिन्छ ।’

यस वर्षका लागि एडीबीले गरेको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण माल्दिभ्स, भारत, भुटान र बंगलादेशभन्दा कम हो भने पाकिस्तान र श्रीलंकाको भन्दा बढी हो । यस वर्ष भारतको आर्थिक वृद्धिदर ७।७, भुटानको ७, माल्दिभ्सको ५।४, बंगलादेशको ५।१, श्रीलंका र पाकिस्तानको समान २।८ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । नेपालका अरू क्षेत्रमा बिस्तारै सुधार हुन थाले पनि निर्माण र उद्योग क्षेत्रमा अझै अपेक्षित सुधार हुन सकेको छैन । यद्यपि जलविद्युत् उत्पादन र सेवा क्षेत्रको विस्तार राम्रो देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update