Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
उच्च आर्थिक बृद्धिदर हुनेगरी सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं । विश्‍व बैंकले नेपाललाई उच्च आर्थिक बृद्धिदर हुनेगरी सहयोग गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलसँग भएको भेटमा विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटले यस्तो प्रतिवद्धता जनाएका हुन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका क्षेत्रमा सहयोग गर्नेगरी छलफल भएको थियो । 

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकहरूमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको जानकारी दिए । 

उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादम्य रहेको उल्लेख गर्दै फ्रेमवर्क अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग मिलेर काम गर्न चाहेको बताए ।

जवाफमा विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैंकले सहयोग गर्ने बताए । उनले विश्व बैंकले लुम्बिनी, काठमाडौं उपत्यकाको शहरी पूर्वधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकहरू सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update