काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थ र ग्यास पर्याप्त रहेको स्पष्ट पारेको छ । पछिल्लो पटक विकसित घटनाक्रमले पेट्रोलियम पदार्थ र ग्यास अभाव हुने आशंकाबीच निगमले आपूर्तिमा समस्या नरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार जेनजी आन्दोलनका क्रममा भन्सार कार्यालय डाउन हुँदा ढुवानीमा सामान्य समस्या आए पनि अहिले निरन्तर आपूर्ति सुचारु भइसकेको छ ।
मुलुकभर दिनको औसत पेट्रोल दुई हजार किलोलिटर र डिजेल चार हजार किलोलिटर बिक्री हुन्छ । व्यवसायीको मागअनुसार शुक्रबार मात्र मुलुकभर ३ हजार ९ सय ८९ किलोमिटर पेट्रोल, २ हजार ९ सय १६ किलोलिटर डिजेल र २३ किलोलिटर मट्टीतेल वितरण गरिएको उनले जनाए । उपत्यकाका लागि थानकोट डिपोबाट पेट्रोल ८ सय ७० किलोलिटर र डिजेल ४ सय ३० किलोलिटर वितरण गरिएको उनको भनाइ छ ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पनि इन्धन वितरणको अवस्था सामान्य रहेको जनाए ।
निगमका अनुसार इन्धन मौज्दातको अवस्था पर्याप्त छ । थानकोट डिपोमा ३ हजार ४ सय किलोलिटर पेट्रोल र ५ हजार ९ सय किलोलिटर डिजेल मौज्दात भट्टले बताए ।
खाना पकाउने एलपी ग्यास पनि अभाव नहुने जनाइएको छ । शुक्रबार विभिन्न नाकाबाट २ सय १० बुलेट ग्यास भन्सार जाँचपास भई बजारमा भित्रिएकाले तत्काल अभाव नहुने संघका अध्यक्ष शिवप्रसाद घिमिरे बताए । शनिबार पनि वीरगन्ज नाकाबाट ३४ बुलेट छुटेका छन् । शुक्रबार वीरगन्ज नाकाबाट १ सय १५, भैरहवाबाट ३७, नेपालगन्जबाट २०, धनगढीबाट ७, झापाबाट ४ र विराटनगर नाकाबाट २७ बुलेट जाँचपास भई छुटेका छन् ।