
चरिकोट । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशिय सडक संजाल जोडिने भएको छ । सरकारले चालु आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक संजाल जोड्ने प्रक्रिया अघि बढाएको हो । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्टर आव्हान गर्ने तयारी छ ।
भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे सडकलाई बहुवर्षीय योजनामा समेट्दै मन्त्रालयले २० करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार चिनियाँ नाका जोड्ने सडकको अहिले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भैरहेको छ । डीपीआर सकिए लगत्तै टेन्टर प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ ।
मन्त्रीको स्थलगत अवलोकन
भौतिक पूर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले उक्त सडकको आईतबार स्थलगत अवलोकन गरेका छन् । विगु गाउँपालिका–१, लामाबगरको हुरहुरेसम्मको सडक स्थलगत निरीक्षणपछि योजना कार्यान्वयन अघि बढाउन निर्देशन दिएका छन् ।
उत्तर–दक्षिण लोकमार्ग महत्वपुर्ण सडक योजना भएकोले आगामी नीति कार्यक्रममा मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए । ‘२० करोड स्रोत सुनिश्चित भैसकेको छ, त्रिदेशिय सम्बन्ध जोड्ने यो सुरुवात हो, आगामी दिनमा यसलाई प्राथमिकता दिएर काम गर्छौं, उनले भने ।’
मन्त्री दाहालसहित पुर्बमन्त्री पार्वत गुरुङ, दोलखाका प्रदेश सांसद भरत केसी, कांग्रेस दोलखाका सभापति बर्मा लामा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख ईन्जिनियर अमित कुमार श्रेष्ठ लगायत सडक अवलोकनमा पुगेका थिए ।
स्थलगत अवलोकनका क्रममा मन्त्री दाहालले सडकको हालसम्मको प्रगति र निर्माण गर्नुपर्ने बाँकी सडकको विषयमा जानकारी लिए ।
एमाले पोलिट व्युरो सदस्य समेत रहेका पुर्व संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङले जिल्ला र मुलुककै आर्थिक समृद्धिसँग जोडिएको हुनाले यो लोकमार्ग जसरी पनि संचालनमा ल्याउने पहल भैरहेको बताए ।
२० करोड बजेट नाकासम्म सडक जोड्ने काममा खर्च हुनेछ । त्यसबाहेक मर्मत र स्तरोन्नतिको काम पनि हुने जनाईएको छ । भिट्टामोडदेखि लप्चीसम्म सडक संजाल जोडिए यो नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको त्रिदेशीय लोकमार्ग बन्नेछ । भिट्टामोडदेखि चीनको याङ्लुङ जम्मा २४८ किलोमिटरको दुरीमा छ ।
महोत्तरीको भिट्टामोडदेखि लामाबगरको लप्ची र लुम्नाङ क्षेत्रसम्मसडक पहुँच पुगिसकेको छ । त्यसबीचमा लामाबगरको हुरहुरे भीरमा ५/६ सय मिटर भीर छिचोल्न बाँकी छ । अब लगभग १३ किलोमिटर सडकको ट्रयाक खोलेपछि चीनको बोर्डर जोडिने अनुमान गरिएको छ ।