Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मन्त्रीको दोलखा भिजिट : सडक पुर्वाधारलाई झण्डै डेढ अर्ब बजेट

चरिकोट । दोलखाको सडक पुर्वाधारतर्फ झण्डै डेढ अर्बको स्रोत सुनिश्चित भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित गरिदिएको हो ।

सडक डिभिजन कार्यालय चरिकोटका अनुसार दोलखा जिल्लासँग जोडिएका बिभिन्न सडक पुर्वाधारहरुका लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बरावरको स्रोत सुनिश्चित भएको छ । जसअनुसार किर्ने–भोर्ले–ढोलीखोला सडकको लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, भिट्टामोड–जलेश्वर–बर्दीबास–खुर्कोट–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चे बहुवर्षीय योजनाका लागि २० करोड बजेट छुट्याईएको छ । 

यसैगरी मुडे–चरिकोट सडकको लागि १५ करोड, मिल्ति–तामाकोशी सडकका लागि २५ करोड, चरिकोट–सिंगटी सडक अन्तर्गत बाढीपहिरोबाट क्षतिग्रस्त झमार्सीखोला खण्डको लागि २ करोड ३० लाख र चप्लेटी खण्डको मर्मत सम्भारका लागि ३० लाख बजेट सुनिश्चित भएको छ । ती मध्ये मुडे–चरिकोट र चरिकोट–सिंगटी सडक अन्तर्गतको झमार्सीखोला खण्डको टेन्डर आव्हान भैसकेको छ । किर्ने–भोर्ले–ढोलीखोला सडक र झमार्सीखोला सडकखण्ड गत असोजको बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो । 

जिल्ला स्थित राजनीतिक दलहरुको पटक पटकको डेलिगेसन र मन्त्रीको जिल्ला भ्रमणपछि उक्त बजेट छुट्याईएको हो । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आईतवार र सोमवार दुई दिनसम्म सडक विभागका महानिर्देशक रामहरी पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठलाई साथमा लिएर जिल्ला स्थित सडकहरुको स्थलगत अवलोकन गरेका थिए ।  

एमाले पोलिट व्युरो सदस्य समेत रहेका पुर्वमन्त्री पार्वत गुरुङले जिल्लाको विकास र समृद्धिका लागि एमालेको नेतृत्वदायी पहल र मन्त्रीको जिल्ला भ्रमण उपलब्धीपुर्ण भएको बताए । ‘हाम्रो अर्जुनदृष्टि जिल्लाको विकास, निर्माण र सुशासन हो, त्यसैका लागि यो पटक गरिएका निरन्तरको प्रयासहरु सफल र उपलब्धीमुलक भएको छ, उनले भने ।’ 

जिल्लामा मन्त्रीस्तरिय स्थलगत भ्रमणपछि योजनाहरुको लागि स्रोत सुनिश्चित गरिएको  सम्भवतः यो सबैभन्दा ठुलो बजेट हो । 
 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update