काठमाडौं । रेमिट्यान्स बढ्दा राष्ट्र बैंकमा चार खर्ब बढी रकम थुप्रिएको छ । वित्तीय प्रणालीको अधिक तरलता निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत कुल ४ खर्ब १५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको हो । यो आइतबारसम्मको तथ्यांक हो ।
चालु आव वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स स्वदेश भित्रिएको छ । गत आव सोही अवधिमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको थियो । वित्तीय प्रणालीको अधिक तरलता समस्या दिनहुँ बढ्दै गएको छ । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधार र उपभोगमा आएको कमीले अधिक तरलता समस्या झनै बढेको हो ।
आर्थिक गतिविधिमा आएको सुस्तताका कारण समग्र बजारको माग बढ्न सकेको छैन । बजार माग नबढेपछि उपभोग पनि बढ्न सकेको छैन । त्यसले गर्दा बैंक वित्तीय संस्थाको कर्जा लगानी समेत अपेक्षा अनुसार बढ्न सकेको छैन ।
रेमिट्यान्स आप्रवाह बढी राख्ने र उपभोगमा सुधार नआउँदा वित्तीय प्रणालीमा अधिक तरलता समस्या देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आव वैशाखमा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड छ । गत आव सोही अवधिमा १ खर्ब १५ अर्ब ९९ करोड थियो ।
रेमिट्यान्स आप्रवाह बढ्दा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई बिक्री गरी नेपाली रुपैयाँ लैजाँदा तरलता अधिक हुन मद्दत पुगेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनीले बताए ।