Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पश्चिमी वायुको प्रभाव, चिसो अझै बढ्ने

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभावका कारण चिसो अझै बढ्ने देखिएको छ । पश्चिमी वायुको आंशिक प्रभावले बादल लागेको छ । बादलको प्रभाव पश्चिम नेपालमा बढी र पूर्वी नेपालमा कम देखिएको छ ।

यसले गर्दा केही चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । तराई मधेश र पहाडी खोँचहरुमा देखिएको हुस्सु कुहिरो पनि हल्का कम हुने सम्भावना छ । तर प्रणाली ठूलो नभएकाले धेरै सुधार भने नदेखिने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको प्रभावले विशेषगरी देशका पश्चिमी भू–भागहरूमा मौसममा परिवर्तन आएको छ ।

पश्चिमी वायुको प्रभावले बादल लाग्ने र चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ । 

यो प्रणाली धेरै बलियो नभएकाले देशव्यापी रूपमा ठूलो असर भने पर्ने छैन । तर हिमाली भेगमा यात्रा गर्नेहरु र तराईमा शीतलहरको सामना गरिरहेका नागरिकहरूलाई भने सतर्कता अपनाउन सुझाव दिइएको छ ।

केही दिनयता तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लाग्ने र तपपत शीत चुहिने गर्दा जनजीवन प्रभावित भएको छ । हवाई र सडक यातायात पनि प्रभावित भएको छ । चिसो अत्यधिक बढेका कारण पालिकाहरुले विद्यालय बन्द गरेका छन् । स्थानीय सरकारको पहलमा चोकचोकमा दाउरा वितरण गरी आगो ताप्ने प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update