काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नउठेको भन्दै उद्योगहरुको लाईन काटिदिएपछि दैनिक करोडौं नोक्सान व्यहोर्नु परिरहेको छ । प्राधिकरणले दैनिक २५० मेगावाट विद्युत खपत गर्ने २५ उद्योगको लाइन काटिदिएको थियो । विद्युत काटिएसँगै यी उद्योग बन्द हुने स्थितिमा पुगेका छन् । उद्योगमा कार्यरत कर्मचारीहरुलाई खुला नभएसम्मका लागि बिदा दिईएको छ ।
विज्ञहरुका अनुसार उद्योगले विद्युत खपत गरेबापत तिर्नुपर्ने दैनिक ६ करोड रुपैयाँ प्राधिकरणलाई घाटा लाग्दै आएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार यी उद्योगले करिब साढे दुई सय मेगावाट विद्युत खपत गर्दै आएका थिए ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले लाइन काटेर प्राधिकरणले २५ उद्योगबाट आउने दैनिक ६ करोड आम्दानी गुमाइरहेको बताए । उनले प्रचलित कानुन, तथ्य, प्रमाणको आधारमा विद्युत् महसुल बक्यौता उठाउनु पर्ने र उद्योगीहरूले पनि तिुर्नपर्ने धारणा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सरकारको यो कदमले व्यावसायिक वातावरण बिग्रेको काफ्लेको विश्लेषण छ ।
डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत उपयोग गरिएको बिजुलीको बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले काटेपछि ति उद्योगमा काम गर्ने कर्मचारीले रोजगारी गुमाउने सम्भावना बढेको छ । उद्योगीहरू विचलित भएका छन् ।
जेनजी प्रदर्शनको आडमा बनेको सरकारले २५ उद्योगको लाइन काटिदिएपछि उद्योगीहरूले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीलाई भेट्न खोजिरहेका छन् । तर, प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वार खनाल र उद्योगमन्त्री अनिलकुमार सिन्हाले भेट गर्न समय नदिएको एक व्यवसायीले बताए ।
पुनरवलोकलको अवस्थामा रहेकै स्थितिमा लाइन काट्दा समस्या झनै उब्जिएको उद्योगीहको भनाई छ ।
विद्युत् काटिएका २५ उद्योगले पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणले कात्तिक ४ गतेदेखि सबैभन्दा बढी बक्यौता बाँकी रहेका उद्योगहरूको लाइन काट्न सुरू गरेको थियो । कात्तिक ४ गते जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्स गरी ६ उद्योगको विद्युत् आपूर्ति लाइन काटेको थियो ।







