काठमाडौँ । प्रमुख दलहरु आगामी फागुन २१ मा घोषित निर्वाचनमा जान तयार भएका छन् । निर्वाचनमा जान तयार रहेको तर सुरक्षा व्यवस्था मिलाउनुपर्नेमा उनीहरुको जोड छ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनतर्फ होमिएर सहयोग गर्न आग्रह गरेपछि प्रमुख दलका शिर्ष नेताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग निर्वाचनबारे प्रमुख दलका शिर्ष नेताहरुसँग वालुवाटारमा छलफल गरेकी हुन् ।
छलफलका क्रममा कार्कीले राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि अलमल नगरी चुनाव सफल पार्न आग्रह गरेकी थिईन् । कार्कीले प्रधानमन्त्री पद राजनीतिक भएको उल्लेख गर्दै त्यसमा राजनीतिक दलका नेताकै हक रहनेसमेत बताइन् ।
बैठकमा एमाले अध्यक्ष ओलीले एमाले चुनावमा जानका लागि जहिल्यै तयार रहेपनि सरकारका तर्फबाट वातावरण बन्नुपर्ने धारणा राखे । वालुवाटार स्रोतका अनुसार २३ भदौपछि सरकार गठन, प्रतिनिधिसभा विघटन, प्रतिनिधिसभा चुनाव घोषणा, जेन–जी र सरकारबीच सम्झौतालगायतमाथि ओलीले प्रश्न उठाए । सरकार चुनाव गराउनेभन्दा पनि बंगलादेशको बाटोमा गएको आरोप ओलीको आरोप छ ।
यसैगरी कांग्रेस सभापति देउवाले चुनावको वातावरण बनेको अवस्थामा कांग्रेसको प्राथमिकतामा संसद् पुनःस्थापना नरहने स्पष्ट पारे । नेकपा संयोजक दाहालले २१ फागुनको चुनाव सार्ने कल्पना पनि नगर्न प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागिरहेको जानकारी दिएकी दिएकी छन् ।
जेन–जी आन्दोलनपछि बनेको सरकार र मुख्य दलका शीर्ष नेताहरूबीच संवादहीनता रहँदै आएकामा राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा शीतल निवासमा प्रधानमन्त्री कार्की र नेताहरू देउवा, ओली र दाहालबीच मंगलबार भेटवार्ता भएको थियो । त्यसपछि तीन वटै दलका शीर्ष नेतालाई प्रधानमन्त्रीले शनिबार बालुवाटारमा बोलाएकी हुन् ।




