
काठमाडौं । दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारको अध्ययन रिपोर्टलाई अन्तिम रुप दिने तयारी गरिएको छ । यस विषयमा छलफल गर्न सरकारी टोली चीन जाने भएको छ । चिनियाँ टोलीले आगामी डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने जनाएको छ ।
सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका कर्मचारीसहितको टोली चीन जान लागेको हो । उक्त टोलीले ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्नेछ ।
चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।
दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालिएको थियो । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनेर ग्याँसको भण्डार फेला पारिएको थियो । थप परीक्षणका लागि नमूना संकलन गरी चीन लगिएको थियो ।
चिनियाँ टोलीले अन्वेषण रिपोर्टबाट ग्याँसको गुणस्तर, त्यसको प्रशोधनसहित उत्पादन लागतका साथै व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पत्ता लाग्ने अधिकारीहरु बताउँछन् ।