काठमाडौँ । नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नजिक पुगेको छ । नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामोओलाई पराजित गरे यस प्रतियोगिता नै जित्ने छ । सुपर सिक्समा नेपालले बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य पाएको घरेलु टोली ओमानले मस्कटको अल एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो । ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको छ । नेपालको ८ अंक र ओमानको ६ अंक छ ।
दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनु अगाडि नै विश्वकपमा पुगेका थिए । नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो । बुधबार पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेट र यूएईले सामोओलाई ७७ रनले पराजित गरेको थियो ।
सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए । अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे ।
अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमै रनआउट गरे । दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरेका छन् । आर्यन विष्टले २४ बल खेल्दै ११ रन बनाए । सन्दीप लामिछानेको बलमा उनी बाउन्ड्री लाइनमा वैकल्पिक फिल्डर आरिफ शेखबाट समातिए ।
त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दी ९०० लाई लगातार बलमा आउट गरे । मोहम्मद नदिमले ३१ बल खेल्दै १ छक्कासहित २५ रन बनाए । गुलशनले यसअघि नै नदिम खानलाई १ रनमा आउट गरेका थिए । विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए । १९ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे । उनी सोमपालको बलमा आउट भए ।
सुफियान मेहबुबले ९ रन बनाए । उनलाई नन्दनले आउट गरे । सकिल अहमद ८ र साह फैजल ३ रन बनाई अविजित रहे । गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । नन्दनले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए । सन्दीपको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो ।
कुशल भुर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो । यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए । आसिफ २० बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए ।
नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे । नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो चारै विकेट लिनेक्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे । यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।
आदिल आलम अन्सारीले १५ बल खेल्दै ३ चौकासहित १६ रन बनाए । कुशल भुर्तेलले ५१ बलमा ६९ रन बनाए । १८ औं ओभरमा एलबीडब्लु आउट भएका उनले ७ चौका र १ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच भए । १९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए । इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दनले ४ बलमा ९ रन बनाए । सोमपाल १ रनमा अविजित थिए ।
ओमानबाट देव्रेहाते स्पिनर नदिमले ४ ओभरमा २० रनमात्र खर्चेर ४ विकेट लिए । सुफियानले ४ ओभरमा २९ र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए ।