काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुलमान घिसिङ पक्षमा असन्तुष्टि बढेको छ । दुई पार्टीबीच एकता घोषणा भएको सातादिन नबित्दै कुलमान पक्ष असन्तुष्ट बनेको हो । रास्वपामा उपसभापतिको जिम्मेवारी पाएका घिसिङले निकटस्थसँग असन्तुष्टि पोख्न थालेका छन् ।
स्रोतका अनुसार उनले पार्टी एकता भएपनि एजेन्डामा एकता हुन नसकेको पीडा व्यक्त गर्न थालेका छन् । हतारमा टाउको टाउको जोडेर एकता गर्दा फुर्सदमा पछुताउनुपर्ने अवस्था आउने उनीहरुको चिन्ता छ ।
कुलमान पक्षभित्र यसअघि नै घन्टी चुनाव चिह्नले सबै आस्थाहरुलाई समेट्न नसक्ने मत आएको थियो । उनीहरुले रास्वपाबाट संघीयता, धर्मनिरेपक्षता, पहिचान र गणतन्त्रबारे रास्वपाको धारणा समेत खोज्न थालेका छन् । उज्यालो नेपाल पार्टीका पहिचान पक्षधर नेताहरूले एकतामा असन्तुष्टि जनाइरहेका बेला उक्त पार्टीका संरक्षक कुलमान घिसिङ पनि रास्वपासँग सशंकित देखिएका छन् ।
बिभिन्न संघर्षपछि प्रााप्त संवैधानिक उपलब्धिमा रास्वपा सहमत नभएमा एकताबाट बाहिरिनेसम्मको निष्कर्षमा उज्यालो पार्टीतर्फ रहेका नेताहरु पुगेका छन् ।
उज्याले पार्टीले समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएपनि रास्वपासँग एकता सहमतिपछि बन्दसूची फिर्ता लिएको थियो । त्यसपछि रास्वपालाई आफ्नोतर्फबाट १८ जनाको नाम समानुपातिकका लागि दिएको थियो ।
तर शुक्रबार पुनः उज्यालो पार्टी निर्वाचन आयोग पुगेको छ । त्यसबाट पनि रास्वपाभित्र कुलमान पक्षको असन्तुष्टि प्रष्ट देखिन्छ ।



