
चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन कमिटि घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुको बिजय सुनिश्चित गर्न १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा गरिएको हो ।
बिहिवार सम्पन्न जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो । उक्त निर्वाचन कमिटि मातहत जिल्ला कमिटि स्थानीय पार्टी संगठन कमिटि, विभाग, जनवर्गीय संघ संगठनका पदाधिकारी तथा सदस्यहरु रहने एमालेले जनाएको छ ।
पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्नेगरी पार्टी निर्वाचनमा होमिएको उपाध्यक्ष समेत रहेका प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिए । बैठकमा जिल्लाका ९ वटै स्थानीयत तहका पार्टी प्रमुखहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।
जिल्ला कमिटीमा मनोनिति
जिल्ला कमिटी बैठकले चार जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गरेको छ । मनोनीत हुनेहरुमा भुवन केसी, निमा लामा र शंखङिमा शेर्पा र श्याम लामा रहेका छन् । भुवन केसी र श्याम लामा एकिकृत समाजवादी र निमा लामा र शेर्पा माओवादी केन्द्र परित्याग गरी हालै एमाले प्रवेश गरेका थिए । केसी एकिकृत समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष, श्याम लामा युवा संघका केन्द्रीय सदस्य, निमा लामा माओवादी केन्द्रका निर्वाचन क्षेत्रिय संयोजक र शेर्पा जिल्ला सचिवालय सदस्य थिए ।
बैठकले शङ्करलाल श्रेष्ठ, पुष्कर खाती, प्रेमप्रसाद अधिकारी, जानुका न्यौपाने, शान्त केसी र भोला खतिवडा रहेको निर्वाचन घोषणापत्र लेखन समिति गठन गरेको छ ।
प्रत्येक वडास्तरको पार्टी कमिटीको वैठक वसी २०७८ साल चैत २६ गतेभित्र उम्मेदवारहरु सिफारिस गर्ने निर्णय भएको छ । यस्तै पार्टी केन्द्रले तोकको मापदण्ड अनुसार पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्याङ्कन, लोकिप्रियता र विजयको सुनिश्चिता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशिताको मापदण्डमा थपगरी स्वच्छ छवि र पारदर्शिता भएका व्यक्तिहरुलाई उम्मेदवारको लागि सिफारिस गर्ने मापदण्ड अनुमोदन गरिएको छ ।
यस्तै बैठकले उपाध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार समिति, मुरारीराज शिवाकोटीको संयोजकत्वमा १५ सदस्यीय आर्थिक परिचलन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । बिभिन्न पार्टीमा आवद्ध तथा स्वतन्त्र रहेका व्यक्तिहरुलाई पार्टि प्रवेश गर्ने अभियानलाई थप प्रभावकारी बनाउने निर्णय पनि भएको छ ।
बैठकमा एमाले स्थायी समिति सदस्य काशीनाथ अधिकारी, पोलिटव्युरो सदस्यद्धय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज सरस्वति वस्नेत, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, केन्दीय सम्पर्क समन्वय संयोजक श्याम वस्नेत, वागमती प्रदेश कमिटी सदस्य तथा दोलखा जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल लगायतले सम्बोधन गर्दै जिल्लाका ७४ वटै वटा र ९ वटै स्थानीय तह विजय सुनिश्चित गर्नेगरी लाग्न निर्देशन दिए ।
यसैबीच एमाले दोलखाले शुक्रवार र शनिवार सदुमुकाम चरिकोटमा प्रशिक्षणको आयोजना गरेको छ । उक्त प्रशिक्षणलाई केन्द्रीय महासचिव शंङ्कर पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा दोलखाबाट बागमती प्रदेश कमिटीमा आवद्ध सवै, जिल्ला कमिटी, सल्लाहाकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्चका सवै र जनवर्गीय संगठनका प्रमुखहरु, पालिकाका पदाधिकारीहरु र वडा कमिटीका अध्यक्षहरु सहभागी हुने जनाईएको छ ।