Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकी आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको आक्रमणमा परी भेनेजुएलामा कम्तिमा ४० जनाले ज्यान गुमाएका छन् । न्युयोर्क टाइम्सका अनुसार शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा गरेको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो ।

आक्रमणपछि अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको दोबी गरेपनि न्यूयोर्क टाइम्सको रिपोर्टमा सैन्य आक्रमणका क्रममा सर्वसाधारण र सैनिकहरु मारिएको उल्लेख छ । 

अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाईम्सले लेखेको छ । 

अमेरिकी अधिकारीहरूले उक्त अखबारलाई बताएअनुसार, आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो, जसको उद्देश्य भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्नु थियो, ताकि त्यसपछि स्थल सेनाको परिचालन गर्न सकियोस् ।

‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारियो, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइए र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरे,’ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ ।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।

आलोचकहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै भएको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले अमेरिकी कंग्रेसलाई छलेर गरिएको आक्रमणले भेनेजुएला मात्र नभई समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update