काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेको छ । आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ ।
भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरी मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइका रुपमा परिचालित छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले फोटो सार्बजनिक गरेर मादुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको पुष्टि गरेका छन् । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा ग्रे रंगको ट्र्याकसुट र कानमा हेडफोन लगाएका मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधिएको छ ।
साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् ।
अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मादुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने जनाएको छ । उनीहरुमाथि लागूऔषध कारोबारलाई प्रश्रय दिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।
यसैबीच रूस, चीन, कोलम्बिया लगायतका देश अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणको बिपक्षमा उभिएका छन् । उनीहरुले आक्रमणको निन्दा गरेका छन् ।
रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले भेनेजुएलामाथि सशस्त्र आक्रमण गरेको छ, जुन गम्भीर चिन्ताको विषय हो र यसको निन्दा गरिनुपर्छ ।’
कोलम्बियाले पनि चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको चार्टर अनुसार कुनै पनि एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने बताएको छ ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले राष्ट्रपति मादुरो वा प्रथम महिला सिलिया फ्लोरेसको अबस्था सार्बजनिक गर्न माग गरेकी छन् ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले विदेशी सैनिकको उपस्थितिको प्रतिरोध गर्ने चेतावनी दिंदै देशभर सैन्य बल परिचालन गरिएको घोषणा गरेका छन् ।
उनले जनतालाई एकजुट हुन आव्हान गर्दै देशमाथि गरिएको आक्रमणबाट नझुक्ने बताएका छन् ।



