काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतालाई आषा जगाउने समय प्रधानमन्त्रीसँग ४÷५ महिनामात्रै भएको टिप्पणी गरेका छन् । अर्थतन्त्र सुधारका लागि समयको अभाव बुझ्न सक्नुपर्ने भन्दै महामन्त्री थापाले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४/५ महिनाको समयमात्रै दिने बताए ।
थापाले भने, ‘हाम्रो प्रधानमन्त्रीले अभावको अनुभूति कति गरेको छ भन्ने कुराले हाम्रो गन्तव्यको अनुमान लगाउन सक्छौँ, हामीसँग नागरिकलाई आशा जगाउनकालागि पाँच महिनाको समयमात्रै हो, यदि नागरिकलाई सरकारले केही गरिरहेको छ, सुधार हुँदैछ भन्ने अनुभूति गराउन सकेन भने संख्या जति भएपनि केही हुँदैन, गठबन्धन जति ठूलो भएपनि केही अर्थ रहँदैन ।’
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले अर्थतन्त्र बिग्रिएर देश श्रीलंका बन्ला कि भनेर नागरिक भन्दा हाम्रो प्रधानमन्त्री डराउनुपर्ने बताए । प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने थापाको भनाई छ ।



