Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण पेन्डिङमा

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखेको छ । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता पेन्डिङमा राखिएको बताए । पोलिट व्युरो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भण्डारीको सदस्यता नवीकरणबारे टुंगो नलागेको जानकारी गराएका छन् । 

राजनीतिमा सक्रिय हुने उद्देश्यले भण्डारीले वैशाख २०८१ मा सदस्यता नवीकरण गरेकी थिइन् । तर, प्रक्रियागत त्रुटि भएकाले भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा रहेको ओली पक्षको भनाइ छ । पार्टी विधानको धारा ८ (३) अनुसार पार्टी सदस्यता त्यागेर राष्ट्रपति भएकाले नयाँ प्रक्रियाबाट सदस्यता लिनुपर्ने ओली पक्षको दाबी छ । ‘पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण पेन्डिङमा छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यसबारे थप छलफल गर्ने निर्णय भएको छ ।’

भण्डारी पक्षले भने विधानको धारा ९ (३) अनुसार पार्टीले विशेष काममा खटाएकाले कुनै कमिटी वा निकायमा संगठित नरहे पनि सदस्यता कायम रहने तर्क गरेको छ । त्यसअनुसार सदस्यता स्वतः नवीकरण गरिएको भण्डारी पक्षको भनाइ छ । भण्डारीले गत १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्तीमा पार्टी सदस्यता नवीकरण गरेकाले एमालेमा जोडिएको जानकारी दिएकी थिइन् ।

सक्रिय राजनीतिमा आउने भण्डारीको निर्णय र सदस्यता नवीकरणबारे थप छलफल आवश्यक भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update