Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो 

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्रीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तय भएको हो । उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।

ओलीको यो भ्रमणलाई सम्भवतः अहिलेसम्मकै छोटो बनाउने तयारी छ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ । ठूला एजेन्डाहरुमा यसपल्ट प्रवेश गर्ने सम्भावना कम भएपनि दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरुलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरुलाई अघि बढाउनेतर्फ भ्रमण केन्द्रित हुने स्रोतले बतायो । 

गत ०८१ चैतको बिमस्टेक बैठक क्रममा थाइल्यान्डको राजधानी बैंककमा ओली–मोदी वान–टु–वान वार्ता भएको थियो । 

नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा लिपलेखको नक्सा उल्लेख गरेको छ, जसप्रति भारत ओलीसँग असन्तुष्ट छ । ओली यसअघि प्रधानमन्त्री छँदा उनको अग्रसरतामा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएको थियो ।

ओलीले समकक्षी मोदीलाई काठमाडौं भ्रमणका लागि दिएको निमन्त्रणा पनि स्वीकार गर्दै आगामी नोभेम्बर तेस्रो साता अर्थात् कात्तिक पहिलो हप्ता मोदी नेपाल आउन सक्ने संकेत भारतीय पक्षले गरेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update