Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की  

काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकी छन् । उनले पहिलो प्रधानन्यायाधीशको पनि इतिहास रचेकी थिईन् । अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी हुन् ।

कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शुक्रवार बेलुका पद तथा गोपनियताको सपथ खुवाए । विराटनगरमा कानुन व्यवसायबाट आफ्नो करियर सुरु गरेकी उनी सोझै सर्वोच्च अदालतको न्यायाधीश बनेकी थिइन् ।

जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई उनले सत्ता हस्तान्तरण गर्नुुपर्नेछ । कार्कीको नाममा आन्दोलनकारी जेनजीका प्रतिनिधिदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रमुख राजनीतिक दलहरूको पनि सहमति छ । 

किसान परिवारमा जन्मिएकी कार्की मातापिताका सात सन्तानमध्ये जेठी हुन् । २५ जेठ २००९ मा मोरङको शंखरपुरमा जन्मिएकी कार्की विराटनगरमा रहँदा बीपी कोइरालाको परिवार र प्रजातान्त्रिक आन्दोलनमा पनि जोडिइन् ।

न्यायपरिषद्‍मा रहेको उनको पुरानो अभिलेख अनुसार, उनले २०२८ सालमा विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए पास गरिन् अनि २०३१ सालमा बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् ।

भारतको बनारस हिन्दू विश्वविद्यालयमा पढ्दा प्रजातान्त्रिक आन्दोलनका नेताहरूको संगतका क्रममा उनीसँग कांग्रेस नेता दुर्गा सुवेदीसँग भेट भयो र पछि उनीसँगै नै विवाह गरिन् ।

कांग्रेसको सक्रिय राजनीतिक छाडेको दशकौं भए पनि सुवेदी मुलुकको प्रजातान्त्रिक आन्दोलनका सक्रिय पुराना नेता हुन् । प्रजातान्त्रिक आन्दोलनका लागि आर्थिक स्रोत जुटाउन नेपाली कांग्रेसले २०३० सालमा गरेको विमान अपहरणको घटनामा सुवेदी पनि संलग्न थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update