Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
डेंगु संक्रमणका कारण एक जनाको मृत्यु, दोलखामा पनि तीन जनामा संक्रमण देखियो

काठमाण्डौं - डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । ३५ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रणको महाशाखाले भने स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको जनाएको छ । 

महाशाखाका अनुसार गत पुसदेखि हालसम्म २ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ७२ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी ललितपुरमा एक हजारभन्दा बढीलाई संक्रमण भएको छ । त्यसैगरी, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो क्रममा छ ।

यस्तै दोलखामा पनि तीन जना बिरामीमा डेँगु संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार गराउन आएका तीन जना बिरामीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मेलुङ गाउँपालिका ७ का एक पुरुष, एक महिला र एक जना बच्चा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जानकारी दिएको छ । कार्यालयका अनुसार संक्रमण पुष्टि भएका तीनै जनाको उपचार भैरहेको छ । 

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, दिसा कालो हुने, उल्टी हुँदा रगत देखिने, बिरामी मुर्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना भएर उपचार गनुपर्ने वा चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

चिकित्सकहरुका अनुसार डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनीहरुको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update