Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कोरोनाले सुत्केरीको मृत्युपछि सिन्धुपाल्चोकका १ सय ९७ जनाको स्वाब परीक्षण हुँदै

सिन्धुपाल्चोक — कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट सुत्केरीको मृत्यु भएपछि सिन्धुपाल्चोकबाट एक सय ९७ जनाको स्वाब संकलन गरी काठमाण्डौँ पठाईएको छ ।

कोरोनाका कारण मृत्यु भएकी बाह्रबिसेकी सुत्केरी महिलाको सम्पर्कमा आएका स्थानीयको नमुना संकलन गरेर पठाईएको हो । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा ‘थ्रोट स्वाब’ सबैको संकलन गरेर नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

वाग्मती सरकारको विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर– स्थित चालिसे गाउँकी २९ वर्षीया मृतक संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ र सम्पर्कमा रहेका सबैको पीसीआर परीक्षणको लागि नमुना संकलन गरेको हो । टोलीमा काठमाडौंदेखि प्रदेश, मन्त्रालयबाट ल्याब विशेषज्ञ, डाक्टरसहित प्राविधिक स्वास्थ्य, सुरक्षाकर्मीको संयुक्त दुई दर्जन खटिएका थिए ।

‘कन्ट्याक्ट ट्रेसिङ’ र सम्पर्कमा आएका सबैको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिले निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७ , ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ ।

दैनिक बढिरहेको कोरोना भाइरसको रोकथाम नियन्त्रण र संक्रमण फैलिन नदिनको लागि वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये ७ वटामा कोरोना भाइरसका संक्रमित बिरामी नै फेला परेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update