
काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै संक्रमितको संख्य कुल ५०७ पुगेको छ ।
मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए ।
डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् । त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।