Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा

चरिकोट–कोरोना भाईरस (कोभिड १९) प्रभावित भारत तथा बिभिन्न जिल्लाहरुबाट दोलखा आएका ९६ जनालाई मानिसलाई क्वारेन्टाईनमा राखिएको छ । जसमा ९१ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा जिल्लाका विभिन्न १२ क्वारेन्टानमा बस्ने ब्यवस्था मिलाईएको हो ।

जसमा कालिञ्चोक गाउँपालिका सबैभन्दा बढि ५ जना महिला सहित ५८ जना रहेका छन् । उनीहरुमध्ये ३३ जनालाई बावरे स्थित निकोभूमे, मावि र २५ जनालाई कालिनाग मावि सिंगटी क्वारेन्टिनमा राखिएको छ ।

यसैगरी विगु गाउँपालिकाका १२ जनालाई हिमालय मावि खोपाचागु, गौरीशंकर गाउापालिकाका ८ जनालाई हलेश्वर मावि सुरी, तामाकोसी गाउँपालिकाका ९ जनालाई गुहेश्वर वालवालिका सेवा केन्द्र असासे, कालिका मावि हावा र पैयुबोट क्वारेन्टाईनमा राखिएको छ ।

यस्तै मेलु गाउँपालिकाका ३ जनालाई सेन्टर प्रावि शितली, जिरी नगरपालिकाका ३ जनालाई जेटिएस प्राविधिक शिक्षालय, भिमेश्वर नगरपालिकाका १ जनालाई महिला विकास भवन चरिकोट र बैतेश्वर गाउँपालिकाका २ जनालाई कालिका मावि मार्बुको क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको छ । उनीहरुलाई स्थानीय तहसँग समन्वय गरी सुरक्षित रुपमा क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रेशह वोहराले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार उनीहरुलाई निश्चित अवधि क्वारेन्टाईनमा राखेर संक्रमण मुक्त रहेको पुष्टि भएपछि मात्रै घर पठाईनेछ ।
उनीहरु संक्रमित मुलुक भारतबाट हालै नेपाल प्रवेश गरेका र नेपाल आएर झापा लगायत जिल्ला स्थित क्वारेन्टाईनमा बसेर आएका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update