
काठमाडौँ — महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत दोलखा घर भएका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले गोली हानी आत्माहत्या गरेका छन् । ड्युटी पोस्ट स्वयम्भू हल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्कीले आफुलाई गोली हानी आत्महत्या गरेका हुन् ।
स्वयम्भूस्थित प्रहरी ड्युटी पोस्टका इन्चार्ज समेत रहेका उनको स्थायी घर दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ४ हो । आइतबार बिहान ड्युटीमा खटिएका बेला असई कार्कीले आत्महत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
घटनास्थलमा बिहानैदेखि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले शुक्रवार मात्रै कोरोनाको त्रासका बीच मनोबल उच्च राख्दै काम गर्न निर्देशन दिएका थिए । कोरोना संक्रमणको जोखिमका बीच काम गर्नुपर्ने प्रहरीको बाध्यताले प्रहरीमा समेत त्रासको मनोविज्ञान छ ।