
चरिकोट–कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भारत तथा बिभिन्न जिल्लाहरुबाट आएका १ सय ७४ जनालाई कालिञ्चोक गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । रोजगारीका क्रममा छिमेकी मुलुक भारतमा रहेका नागरिक ठुलो संख्यामा गाउँ फर्किएका हुन् ।
गाउँ फर्किन चाहनेहरुलाई गाउँपालिकाले समन्वय र सहजीकरण गरी जिल्ला ल्याएको हो । उनीहरुलाई सुरक्षाकर्मी र स्वयंसेवकको निगरानीमा गाउँपालिकाको ८ वटा क्वारेन्टानमा बस्ने ब्यवस्था मिलाईएको हो । एउटा क्वारेन्टाईनमा ४ जना स्वयंसेवक खटाईएको छ । जस अनुसार लापिलाङ माविमा ४८ जना, निकोभूमे ३३, जल्पाश्वरी ३१, हिलेपानी स्थित क्वारेन्टाईनमा ९ जनालाई राखिएको छ ।
यसैगरी भगवती स्कुलमा १९ जना, बलम्बुमा १८ जना, सिंगटीमा ८ जना र सित्कामा ८ जना गरी जम्मा १ सय ७४ जनालाई क्वारेन्टाईनमा व्यवस्थापन गरिएको छ । गाउँपालिका अध्यक्ष विन कमार थामीले भारतबाट आएका नागरिकलाई उच्च सतर्कता सहित क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाईएको जानकारी दिए ।
उनीहरुबाहेक ४८ जना यसअघि नै १४ दिनसम्म क्वारेन्टाईन बसेर स्वास्थ्य परीक्षणपछि घर फर्किसकेका छन् । गाउँपालिकाका अनुसार घर फर्केकाहरुमा गरिएको आरडीटी र पीसीआर परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गाउँपालिकाका अनुसार भारतमा रहेका गाउँपालिकाका २५ सय बढि नागरिक मध्ये अझै धेरै आउने तयारीमा छन् ।