![उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी](https://www.sajhaboli.com/uploads/posts/1974-AD-1725361531.jpg)
‘आहा १’, ‘अझै संगीत’, ‘एकता’, ‘खोज’ अनि ‘यात्रा’
आफ्नो ३० वर्षे यात्रालाई सम्झिंदा सांगीतिक समूह १९७४ एडीका सदस्यहरूको मानसपटलमा यिनै शब्दहरू तैरिन्छन् । यो लोकप्रिय रक ब्यान्डले आफ्नो ३० औं वर्षगाँठ मनाइरहँदा यसका सदस्यहरूले यो सांगीतिक यात्राको सुखदुःख र आवाजको सरहद पार गर्ने अथक प्रयत्नलाई नियालेका छन् ।
सन् १९९२ मा फिरोज स्याङ्देन र निराकर याक्थुम्बाको भेटसँगै ब्यान्डको वीजारोपण भएको थियो । त्यति बेला फिरोज ज्ञानोदय बालबाटिका स्कुलमा संगीत पढाउँथे । स्कुलकी सञ्चालिका थिइन्( निराकरकी आमा इन्दिरा याक्थुम्बा । निराकर पनि संगीत साधना गरिरहेका थिए । यस्तोमा आमाकै विद्यालयमा संगीत पढाउने फिरोज भेटेपछि उनीहरू नजिकिनु स्वाभाविकै थियो । बिस्तारै फिरोज र निराकरको दोस्ती जम्दै गयो, उनीहरूको भेट संगीतमय हुन थाल्यो । साथीहरू थपिंदै गए । सन् १९९४ मा त उनीहरूले औपचारिक रूपमै ब्यान्ड स्थापना गरेर काठमाडौंमा आफ्नो पहिलो सांगीतिक प्रस्तुति पनि दिए ।
ब्यान्डले आकार लिंदै गयो । यही बीचमा मनोजकुमार केसी ९गितार०, एड्रियन प्रधान ९गायनरड्रमर०, सञ्जय श्रेष्ठ ९पर्कुसन० र मनोज सिंह ९बाँसुरी० पनि आबद्ध भए । उनीहरू आज पर्यान्त ब्यान्डकै हिस्सा छन् । उनीहरूको आगमन भएपछि त ब्यान्डले यसरी पूर्णता पायो, १९७४ एडी नेपाली संगीतको एक मानक ब्यान्ड नै बन्यो । ३० वर्षसम्म आइपुग्दा १९७४ एडी नेपालको सर्वप्रिय रक ब्यान्डको रूपमा स्थापित छ ।
तीन दशकमा ब्यान्डले संसारको कुनाकुना भ्रमण गरेको छ । अहिले पनि ३० औं वर्षगाँठको उपलक्ष्यमा, ब्यान्ड ‘वल्र्ड टुर’ मा छ । जापान र अमेरिकामा उनीहरूले प्रस्तुति दिइसकेका छन् ।
आफ्नो जबर्जस्त सांगीतिक प्रस्तुति मार्फत १९७४ एडीले मनोरञ्जन मात्र गराइरहेको छैन, संसारभरका नेपालीलाई एकताबद्ध पनि बनाइरहेको छ । यस बाहेक, नेपाली संगीत क्षेत्रमा रक विधाको भविष्य छ भन्ने बलियो दृष्टान्त पनि उनीहरूले प्रस्तुत गरिरहेका छन् ।
ब्यान्ड ३० वर्षसम्म टिक्ला र नेपाली संगीत क्षेत्रमा प्रभावशाली भइरहला भन्ने निराकरले कहिल्यै सोचेका थिएनन् । ब्यान्डका संस्थापक सदस्य र बेसिस्ट निराकर कर्णप्रिय संगीत सिर्जना गर्ने बलियो इच्छाशक्तिले नै यो सम्भव भएको ठान्छन् । ‘हामीले नेपाली हो र रातो र चन्द्र सूर्य जस्ता गीत गाउँदा हाम्रो प्रस्तुतिमा सहभागी सम्पूर्ण नेपालीहरू एकताबद्ध भएको महसुस गर्छौं,’ उनले भने ।
३० वर्ष निकै लामो समय हो । नेपाल जस्तो देशको एउटा रक ब्यान्डका लागि त झनै लामो । संगीतकर्ममा यति लामो अवधि बिताउने नेपाली ब्यान्ड मुठ्ठीभर मात्र छन् । सदस्यहरूबीचको मनमुटाव र अवसरको खोजीमा विदेश जाने परिपाटीले धेरै आशालाग्दा नेपाली ब्यान्ड मुर्झाएर गएका छन् । यद्यपि, १९७४ एडी अपवाद रह्यो ।
समकालीन अधिकांश नेपाली संगीतकर्मीलाई १९७४ एडीले प्रत्यक्षरपरोक्ष प्रभाव पारेकै छ । नवआगन्तुक ब्यान्ड र कलाकारहरू १९७४ एडी जस्तै बन्न चाहन्छन् । विशेषगरी रक विधाका नेपाली कलाकारहरू, अनुज होऊन् वा अग्रज, १९७४ एडीका गीत गाउँछन्, बजाउँछन् ।
‘एउटा ब्यान्डका लागि ३० वर्षे सहकार्य भनेको ठूलो कोसेढुंगा हो,’ गायक तथा गीतकार विपुल छेत्री भन्छन्, ‘हामीलाई बाटो देखाएकोमा धन्यवाद ।’
ब्यान्डका अनुसार यत्तिका वर्षसम्म संगीतकर्मलाई निरन्तरता दिइराख्न उनीहरूलाई दुइटा कुराले प्रेरित गर्यो( प्रशंसकबाट कमाएको स्नेह र नेपाली संगीतप्रतिको लगाव ।
१९७४ एडीको प्रशंसनीय पाटो निरन्तर कर्णप्रिय संगीत सिर्जना गर्नु पनि हो । ब्यान्डले एकपछि अर्को लोकप्रिय गीत बनाइरहेको छ र सबै एल्बम उत्तिकै मन पराइएको छ । परेलीमा, गुराँसै फुल्यो, सम्झी बस्छु, पिंजडाको सुगा, मुटु भरिभरि, तिमीलाई पिरतीले बाँधौंला लगायत १९७४ एडीका केही चर्चित गीत हुन् । स्रोताहरूबाट अद्यपि माया र स्नेह पाइराख्नुमा उनीहरूले सिर्जना गर्ने गुणस्तरीय संगीत मुख्य पाटो हो ।
ब्यान्डका सबै सदस्यको बराबर प्रयत्नले यो सम्भव भएको उनीहरू बताउँछन् । ‘हामीबीच व्यक्तिगत भिन्नता भएपनि हामी सँगै हुँदा चमत्कार हुन्छ,’ ब्यान्डका पर्कुसनिस्ट सञ्जय श्रेष्ठ भन्छन् ।
सञ्जयको भनाइलाई थप्दै ब्यान्डका लिड गितारिस्ट मनोजकुमार केसी संगीतका सुर, ताल, राग, रागिनी जस्ता सिद्धान्त पालना गर्ने भएकाले आफूहरूले स्तरीय संगीत सिर्जना गर्न सकिरहेको बताउँछन् । उनका अनुसार स्तरीय संगीतको पहिलो सर्त नै सैद्धान्तिक रूपमा बलियो हुनु हो । ‘स्तरीय संगीत सिर्जना गर्नु भनेको चलचित्र बनाउनु जस्तै हो । राम्रो स्क्रिप्ट नभएसम्म चलचित्र राम्रो बन्नै सक्दैन,’ उनले भने ।
उनी संगीतलाई प्रविधिले परिस्कृत गर्छ भन्ने विश्वव्यापी मान्यताको विरोध पनि गर्छन् । ‘यदि तपाईंको गीत सैद्धान्तिक रूपमा बलियो छ र राम्रो शब्द, संगीत छ भने मोबाइलमै रेकर्ड गरे पनि गीत मीठो सुनिन्छ,’ उनले भने ।
साथै, समयक्रमसँगै ब्यान्डका सबै सदस्यको गीत लेखन क्षमता पनि अभिवृद्धि भएको उनी बताउँछन् । स्तरीय संगीत सिर्जनाको कुरा गरिरहँदा, निराकर संगीत सुन्न र बुझ्न सक्ने ब्यान्डको सामूहिक सामथ्र्यको पनि कदर गर्छन् । ‘ब्यान्डका सबै सदस्य संगीतमै दत्तचित्त छन्,’ उनी भन्छन्, ‘हामी धेरैथरीको संगीत सुन्छौं र तिनको विश्लेषण गरेर तीबाट सिक्छौं ।’
तर सन् २०१४ मा आन्तरिक समस्याका कारण ब्यान्ड छिन्नभिन्न भएको थियो । यसले दोस्रो पटक १९७४ एडीका लाखौं प्रशंसकको दिल टुटाएको थियो । पहिलो पटक सन् २००९ मै उनीहरू निराश भएका थिए जतिबेला फिरोज ब्यान्डबाट बिदा भई अमेरिका पलायन भएका थिए ।
१० वर्षअघि ब्यान्ड विघटन भएको समाचारले त नेपाली संगीत क्षेत्रमा हलचलै ल्याएको थियो । प्रशंसकहरूले यस्तो निर्णय फिर्ता लिन दबाब नै दिएका थिए ।
अन्ततः सन् २०१९ मा केही ढिलै भए पनि सदस्यहरूले ब्यान्ड पुनर्गठन गर्नुपर्ने महसुस गरे । खासमा २०१९ को अप्रिल महिनामा जोन मायरको कन्सर्ट हेर्न भनी निराकर थाइल्याण्ड जाँदै थिए । संयोगवश त्यही फ्लाइटमा थिए एड्रियन पनि । सामान्य गफगाफकै बीच उनीहरूले आकाशमै ब्यान्ड पुनर्गठन इच्छा व्यक्त गरे । बिस्तारै ब्यान्डका अरू सदस्यले पनि ब्यान्ड ब्युँत्याउने कुरामा इच्छा देखाए । अन्ततः १९७४ एडी फेरि जुर्मुरायो ।
‘ब्यान्ड ब्युँताउनुपर्छ भन्ने हामी सबैलाई लागेको थियो । हामीले केवल माध्यम भेट्टाउन सकिरहेका थिएनौं,’ सञ्जय भन्छन् ।
ब्यान्डको पुनर्जीवनपछिको पहिलो गीत ‘मान्छेको जीवन’ले थोरबहुत उनीहरूकै कथा व्यक्त गर्छ( कसरी उनीहरू फेरि एकीकृत भए, संगीतकर्ममा लाग्न कति दृढ थिए भन्ने बताउँछ ।
त्यसैले पनि उनीहरू यसलाई ब्यान्डको पुनर्गठन भन्दा पनि पारिवारिक पुनर्मिलन ठान्छन् । पुनर्मिलनपछि आफूहरू झनै परिपक्व भएको र एकअर्कासँगको सम्बन्ध पहिलेभन्दा प्रगाढ भएको बताउँछन् । तीन दशकको यात्रामा उनीहरूले एकअर्कालाई गहिरोसँग चिन्न र असहमतिहरू सन्तुलनमा राख्न सिकेका छन् । ‘ब्यान्ड अझ बलियो भएको छ,’ निराकर भन्छन् ।
सम्बन्धहरूमा आएको रूपान्तरणसँगै ब्यान्डको संगीत रच्ने प्रक्रिया पनि अहिले फेरिएको छ । कुनै समय थियो, १९७४ एडीका सबै सदस्य नेपालमै हुन्थे । तर अहिले मनोजकुमार, निराकर र सञ्जय मात्रै नेपालमा छन् । फिरोज, एड्रियन र मनोज अमेरिकामा छन् । यता घाम लाग्दा उता रात पर्छ । उता रात पर्दा यता घाम लाग्छ । ‘टाइम जोन’को यो विषमताले गर्दा संगीत सिर्जनामा ठूलो चुनौती थपिएको छ ।
‘पहिले त काम तत्कालै हुन्थ्यो तर अहिले ब्यान्डका आधा सदस्य विदेशमा छन्, सबैलाई पायक पर्ने समय कुर्नुपर्ने अवस्था छ,’ ब्यान्डका म्युजिक प्रोड्युसर समेत रहेका मनोजकुमारले भने, ‘यस्तो परिस्थितिले कहिलेकाहीं उत्साह नै मारिदिन्छ अनि त्यही ऊर्जा कायम राखिराख्न गाह्रो बनाउँछ ।’
नेपाली ब्यान्डहरूको प्रवृत्ति हेर्ने हो भने अधिकांश गायकले चर्चा पाइरहेको भेटिन्छ । तर यस मानेमा १९७४ एडी बिल्कुल अलग छ । स्रोतामाझ ब्यान्डका हरेक सदस्य उत्तिकै लोकप्रिय छन् । ब्यान्डका सबै सदस्यले बराबर जस्तो चर्चा कमाएकोबारे निराकर भन्छन्, ‘हाम्रो टोली लोकतान्त्रिक छ । संगीत संयोजनका वेला हामी सबैको विचार सुन्छौं र सबैको मतलाई सम्मान गर्छौं ।’
ब्यान्डका अनुसार स्टुडियो होस् वा कन्सर्ट, उनीहरू सबै वाद्यवादनलाई बराबर स्थान र अवसर दिन्छन् । नियतवश होइन, स्वभाविक रूपमै यस्तो भइरहेको हुन्छ । उनीहरू संगीत र शब्दलाई मात्र होइन, ताललाई पनि उत्तिकै महत्त्व दिन्छन् ।
मनोज भन्छन्, ‘एक्लैले नेतृत्व गरेको राम्रो देखिंदैन । हामी सबै सँगै चम्किनुपर्छ ।’