Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा र तालिका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चारदिने चीन भ्रमणको एजेन्डा स्वीकृत भएको छ । ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी नेपालले प्रस्ताव गर्ने नयाँ परियोजनासहितका एजेन्डालाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो । 

सत्तारूढ कांग्रेस र एमालेले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अघि बढाउन साझा अवधारणासहितको विकास परियोजना बनाएका छन् । 
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चीनका समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा हुने द्विपक्षीय वार्ताका क्रममा दुई देशबीचका एजेन्डामाथि छलफल हुनेछ । त्यस क्रममा सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । चिनियाँ पक्षसमक्ष प्रस्ताव गरिने अनुदानमा सञ्चालन गर्ने गरी सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजनाको सूची पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

 ‘बीआरआई फ्रेमवर्क’भित्र टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स छन् ।

प्रस्तावित परियोजनामध्ये केरुङ–काठमाडौं सीमापार रेलमार्गको समय अवधि नै प्रस्ट पारेर चिनियाँ पक्षसँग प्रस्ताव गर्ने तयारी छ । 

चीनले विगतमा प्रतिबद्धता जनाएर पनि कार्यान्वयन नभएका अनुदान र अन्य सहयोगका विषय पनि नेपालले उठाउनेछ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा घोषणा गरेको ५५ अर्ब रुपैयाँ अनुदान अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

चिनियाँ पक्षले राष्ट्रपति चिनफिङले घोषणा गरेकै अनुदानलाई ‘बीआरआई फ्रेमवर्क’भित्र राखेर प्रस्तावित परियोजनाका लागि छुट्याउन सक्ने अनुमानसमेत नेपाली पक्षले गरेको छ । तर, साझा धारणा बनाउने क्रममा दुई दलले यसअघि प्रतिबद्धता जनाइएका अनुदान र योजनालाई ‘बीआरआई फ्रेमवर्क’ भित्र राखेका छैनन् ।


कांग्रेस महामन्त्री गगन थापाले संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच साझा धारणा बनाएर ‘बीआरआई’ अघि बढाउने निर्णय दुवै देशको साझा हितमा अन्तरनिहित रहेको बताए ।

प्रधानमन्त्री ओली सरकारी टोलीबाट ३९ र निजी क्षेत्रबाट ४८ गरी ८७ जनाको नेतृत्व गर्दै चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री भएपछि यो नै पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनी यसअघि बहुपक्षीय सभा संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समयअनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्नेछन् ।

ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग वार्ता गर्नेछन् । सोही वार्तामा दुई मुलुकबीचका एजेन्डामा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट्ने कार्यक्रम छ ।

ओलीले बुधबार पेइकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा पनि सोही दिन सम्बोधन गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्नेछन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update