
काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि दान गरिएको जग्गा र निर्माण हुने भवन बिरुद्ध परेको रिट खारेज भएको छ । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले उक्त जग्गा दानसँगै भवन निर्माण गर्ने घोषणा गरेका थिए । सो बिरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो निर्णय सुनाएको हो ।
अदालतको यो निर्णयसँगे न्यायाधीशद्वय मुसलमान र ढकालको यो आदेश गुरुङले दान गरेको जग्गामा एमाले केन्द्रीय कार्यालय निर्माण हुने बाटो खुलेको छ । निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले सरकारको नेतृत्व गरिरहेको पार्टीले व्यापारीसँग जग्गा दानमा लिनु गैरकानुनी भएको भन्दै एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका छन् ।
गत असोज २५ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका दम्पतीले संयुक्त रूपमा उक्त भवन निर्माणको शिलान्यास गरिसकेका छन् ।