
काठमाडौँ । नुवाकोटाको शेरा दरबारको जग्गा अपचलनबारे गहिरो अनुसन्धन र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले निर्देशन दिएको छ। गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान गरेको घटनाको गम्भीर रूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।
उनले त्यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख दीपक थापालाई बोलाएर ब्रिफिङ समेत लिएका छन् ।
अनुसन्धानबाट दोषी देखिएकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि लेखकले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । छानबिन प्रक्रिया द्रुत रुपमा अघि बढाएर उक्त विषय टुंगोमा पुर्याउनसमेत गृहमन्त्रीले निर्देशन दिएका छन् ।
पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।