
काठमाडौं । अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको सुन बरामद गरेपछि अनुसन्धान सुरु भएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले मुद्दा दायर गरेको हो ।
विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार ८ किलोभन्दा बढी (८२४३.९७० ग्राम) सुन मकवानपुर प्रहरीले बरामद गरेको थियो ।
पक्राउ परेकाहरुबाट बिगो र जरिवानासमेत २४ करोड २५ लाख ८७ हजार असुलउपर गर्नुपर्ने माग गरिएको छ । उनीहरूलाई हदैसम्मको जेल सजायको मागसहित अभियोगपत्र दर्ता गरिएको छ ।