
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक यातायातको भाडादर बढाएको छ। विभागले सोमबारबाट ३.३१ प्रतिशत भाडा बढाएको हो । भाडा बढेसँगै हिजोसम्म १०० रूपैयाँ तिरेर हुने यात्राका लागि अब १०३ रूपैयाँ ३१ पैसा तिर्नु पर्नेछ ।
योसँगै २८० वटा रूटको भाडादर एक साथ बढेको छ। संघीय सरकारले अन्तरप्रदेश (कम्तीमा दुइटा प्रदेश) जोडिने रूटको लागि भाडा बढाएको हो। अन्तर प्रदेश भाडादर संघीय सरकारले तोक्छ भने अन्तर जिल्ला भाडादर प्रदेश सरकारले तोक्छ।
भाडादर समायोजन गर्न सरकारले बनाएको कार्यविधिका आधारमा भाडादर बढाईएको विभागले जनाएको छ । पहिलो, इन्धनको मूल्य पाँच प्रतिशत बढेको वा घटेको अवस्थामा, दोस्रो, हरेक वर्ष विभिन्न पाँच सूचक पारिश्रमिक, टायर, सञ्चालन खर्च, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर, र तेस्रो, पाँच वर्षमा एक पटक पुनः सबै सूचकहरूलाई विश्लेषण गरेरभाडादर बढाउने गरिएको छ ।
यातायात व्यवस्था विभागले अहिले पारिश्रमिक, टायर, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर करिब ८ प्रतिशत भाडा बढाउनुपर्ने हिसाब निकालेको थियो। तर इन्धननको मूल्य घटेकाले ३.३१ प्रतिशत मात्रै भाडा बढाएको हो।