
काठमाडौँ । सहकारी ठगी लगायतका मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी तोकेको छ । उनी गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । लामिछाने अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो । यसअघि कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटी तोकेको थियो ।
काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान र थुनछेक बहस भएको थियो ।