Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अपर तामाकोशीको विद्युत बिक्री आम्दानी घट्यो, ऋण अझै ७१  अर्ब

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानी ह्वात्तै घटेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनाको अबधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अबधिमा कम्पनीले ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

गत आवको तुलनामा यो आवको ६ महिनामा विद्युत बिक्री आम्दानी २ अर्ब ७५ लाख भन्दा कम देखिएको छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले ८८ दिन विद्युत उत्पादन बन्द भएको थियो । सोही कारण विद्युत बिक्री आम्दानी घटेको बताईएको छ । 

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । कम्पनीले यो नाफा विमा वापतको अनुमानित दाबी रकम समेत जोडेर निकालेको हो । त्यस्तै गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ७६ लाख नाफा कमाएको थियो ।

गत असोजसम्म कम्पनीको नोक्सानी ६३ करोड १९ लाख देखिन्छ । वित्तीय लागत गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ९८ करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८८ पैसा छ । प्रतिसेयर नेटवर्थ जम्मा ५६ रुपैयाँ ५५ पैसा छ । यसबीचमा कम्पनीको सेयर न्यूनतम १९९ रुपैयाँ ६० पैसा र अधिकतम २३१ रुपैयाँ ९० पैसा छ । 

आयोजनाको दिर्घकालिन ऋण ४५ अर्ब ७२ करोड छ । पहिलो त्रैमास अवधिमा ४५ अर्ब ९५ करोड ऋण थियो । यो अबधिमा २३ अर्ब ऋण कम देखाईएको छ । नेपाल विद्युत प्राधिकरण मार्फत नेपाल सरकार तथा संस्थापक शेयरधनीहरु न्ेपाल टेलिकम, नागरिक लगानी कोष तथा राष्ट्रिय विमा संस्थानबाट दिर्घकालिन ऋण लिईएको थियो । सुरुमा ३५ अर्ब अनुमान गरिएको लागत बढेर झण्डै ९० अर्ब पुगेको थियो । अस्वभाविक रुपमा लागत बढाईएको भन्दै आयोजनाप्रति जनस्तरमा व्यापक असन्तुष्टि छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update