काठमाडौँ । यो वर्ष नेपालमा चाँडै मनसुन सुरु हुने भएको छ । भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि चाँडै मनसुन सुरु हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । केरलामा मनसुन आइसकेकाले अबको ७ देखि १० दिनभित्र पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताईन् ।
कहिले नेपाल भित्रिन्छ भनेर सुरुवाती मनसुनको गति र सक्रियताका आधारमा भर पर्ने उनको भनाई छ । भारतको मौसम विभागका अनुसार यस वर्ष प्रवेश भइसकेको मनसुन १६ वर्षयता अर्थात् सन् २००९ मे २३ पछि सबैभन्दा चाँडो भित्रिएको हो ।
जल तथा मौसम विभागले पाँच दिन अघि सार्बजनिक गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ कार्यक्रममा २० लाख नागरिक प्रभावित हुने उल्लेख थियो । मनसुन ऋतुको हावापानी प्रक्षेपणअनुसार यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण छ ।
कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहने अनुमान छ । सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
यस वर्षको मनसुनबाट देशभर ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा ३८ हजारभन्दा बढी घरधुरीका दुई लाखभन्दा बढी नागरिक हुन् ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन आइपुग्ने दिन यकिन नभइसकेको बताए पनि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुन १ अर्थात् जेठ १८ भित्रै मनसुन भित्रिने पूर्वानुमान सहित तयारी थालेको प्रवक्ता रामबहादुर केसीले बताए ।