Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
धम्क्याउँदै रकम असुली गरेको भन्दै पत्रकार बिरुद्ध मुद्धा दायर

काठमाडौं । पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको भन्दै पत्रकार बिरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

साउन, २०४९ सालदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालिन म्याद थप गरेको कैयौ निकायबाट एकसाथ लाभ लिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । 

कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।

अख्तियारका अनुसार उनले कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयहरुबाट काज/भ्रमण अनि बैठक भत्ता लिएका थिए । अख्तियारले त्यसलाई गैरकानूनी लाभ भनेको छ ।

उनी मन्थली बचत तथा ऋण सहकारी, रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा कार्यरत थिए । अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म १ करोड १५ लाख रुपैंया गैरकानूनी लाभ लिएको आरोप लगाएको छ । 
कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालिन प्रमुखहरु अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update