काठमाडौं । सरकारले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानीबाट छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका हुन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
दैलेखमा भेटिएको ग्याँसका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
चाइना जियोलोजिकल सर्भेले दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लगाएको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न ग्याँस अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र खानी विभागका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए ।
उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको जानकारी दिए ।
दैलेखमा एक ठाउँ गरिएको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको छ ।
त्यसबाट उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्याँसको परीक्षण उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको भेटमा सहभागी एक अधिकारीले बताए । त्यसका लागि उनले आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पनि पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।