काठमाडौँ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले एक महिनाभित्र परीक्षण उत्पादन गर्ने जनाएको छ ।
हाल आयोजनाअन्तर्गत सुरुङमा पानी प्रवाह गराई ‘वेट टेस्टिङ’ तथा पावर हाउसका मेसिनहरूको जाँचको काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन समयमै निर्माण गर्न नसकेकाले ढिलाइ भएको विद्युत् उत्पादन अब एक महिनाभित्र सुरू हुने तयारी गरिएको छ ।
गत जेठको अन्तिम सातादेखि नै सुरुङमा पानी पठाएर परीक्षण सुरु गरिएको थियो । मध्य भोटेकोसी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले सुरुङको वेट टेस्टिङ सकिएपछि अहिले पावर हाउसका मेसिनहरूको परीक्षण भइरहेको जानकारी दिए । प्राधिकरणले निर्माण गरिरहेको खिम्ती लाइनमा थोरै काम मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
योजना सम्पन्न भइसकेको भए पनि स्थानीय अवरोधका कारण उत्पादनमा समस्या भएको आयोजनाका अधिकारीहरूले जनाएका छन्। अब भने कुनै अवरोध नरहने र उत्पादन सुरु हुने उनीहरूको भनाइ छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको बसेरीमा पावर हाउस निर्माण गरिएको यो आयोजना प्रसारण लाइनको अभावका कारण रोकिएको थियो ।
आयोजनाबाट विद्युत् बिक्री गरेर वार्षिक तीन अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ। भोटेकोसी क्षेत्रमा जिल्लावासी र जिल्लावासीकै कम्पनीमार्फत झन्डै एक अर्ब रुपैयाँभन्दा बढीको सेयर लगानी गरिएको छ ।
आयोजनाको सिभिल वर्क चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरिरहेको छ । चार वर्षमा निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा चिलिमे, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा स्थानीय कम्पनीहरूको लगानी रहेको छ ।
आयोजनाले प्रभावित र सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । आयोजना निर्माण लागत २० अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।