Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेपालले गर्‍यो इतिहाँसकै उच्च निर्यात

काठमाडौं । नेपालले इतिहाँसकै उच्च निर्यात गर्न सफल भएको छ । निर्यात बढेसँगै वैदेशिक व्यापारको आकार २० खर्ब रुपैयाँमाथि उक्लिएको छ । नेपालको वैदेशिक व्यापारको इतिहासमा यस्तो दोस्रो पटक हुन पुगेको हो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । आव २०७८/७९ मा वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । यस वर्ष निर्यातमा नयाँ कीर्तिमान बनेको छ । २ खर्बको पुरानो रेकर्ड तोडेको निर्यात व्यापार यस वर्ष २ खर्ब ७७ अर्बमा उक्लिएको छ ।

यसलाई अर्थतन्त्र चलायमान भएको संकेतका रूपमा लिन सकिने सरोकारवालाहरू बताउँछन् । 

नेपाल उद्योग वाणिज्य महासंघ निर्यात प्रवर्द्धन समिति सभापति नरेशलाल श्रेष्ठले निर्यातको आँकडा ३ खर्ब नजिक पुग्नु उत्साहजनक अवस्था रहेको बताए । 

यस वर्ष वनस्पति तेल निर्यात सबैभन्दा धेरै १ खर्ब २२ अर्ब रुपैयाँ बराबर छ । तर, यस्ता वस्तु आयात त्योभन्दा माथि छ ।

अर्थात्, एक वर्षमा १ खर्ब ५६ अर्ब १४ करोड रुपैयाँ बराबर वनस्पति तेल आयात भएको छ । 

धेरै निर्यात भएका वस्तुको पहिलो स्थानमा सोयाबिन तेल छ । सोयाबिन तेल १ खर्ब ६ अर्ब रुपैयाँ बराबर निर्यात भएको छ । दोस्रो स्थानमा सूर्यमुखी तेल छ । जुन १२ अर्ब ३२ करोड बराबर निर्यात भएको देखिन्छ ।

कार्पेट निर्यात १० अर्ब ७७ करोड बराबर छ । अलैँची निर्यात ७ अर्ब ६८ करोड रुपैयाँको छ । जुट निर्यात ५ अर्ब ६९ करोडको छ । ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको यार्न निर्यात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update