Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौँ । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो एक सातादेखि सुनको मूल्यले थप नयाँ–नयाँ कीर्तिमानी बनाईरहेको छ । जानकारहरुका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला र अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन भएपछि सुनको मूल्य बढेको हो । 

सोही कारण एक सातायता दिनहुँ मूल्यमा नयाँ कीर्तिमान बनिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ७४ अमेरिकी डलर थियो । सोहीअनुसार महासंघले नेपाली बजारमा प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको मूल्य कीर्तिमानी नभए पनि स्वदेशी बजारमा तोकिएको मूल्य कीर्तिमानी हो । डलरको सटही दरमा भारु र नेपाली रुपैयाँ अवमूल्यन नै यसको मुख्य कारण रहेको गहनाविज्ञ तेजरत्न शाक्यले बताए ।

गत वैशाख ९ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ८५ डलर थियो । नेपाली बजारमा भने त्यति बेला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको थियो । ‘त्यति बेला पनि मुख्य कारण भारु र नेपाली रुपैयाँको सटही दर नै थियो । त्यस बेला एक अमेरिकी डलर बराबर १ सय ३६ रुपैयाँ थियो,’ शाक्यले भने, ‘सोमबार पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार ४ सय ७४ अमेरिकी डलर छ । तर एक डलर बराबर १ सय ४१ रुपैयाँ ४५ पैसा पर्छ । सोही कारण नेपाली बजारमा मूल्य अकासिएको हो ।’ अन्तर्राष्ट्रिय बजारको हकमा भने डलर कमजोर नै रहेको उनले जनाए ।

अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर महासंघले मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, १० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा ९बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत० गरी बजार मूल्य निर्धारण गरिन्छ ।

पछिल्लो एक सातायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफ पनि सुनको मूल्य बढ्नुको कारण हो,’ शाक्यले भने । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update