
चरिकोट — स्वदेशी लगानीले निर्माणाधिन ४५६ मेगावाट विद्युत क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ । आयोजनाबाट नयाँ वर्षबाट विद्युत उत्पादन सुरु गर्ने स्प्रीडका साथ आईतवारदेखि प्राविधिक परीक्षण भैरहेको छ ।
अब आयोजनाबाट वर्षौदेखि बिजुली उत्पादनका हुने प्रतिक्षाको घडी सम्भवत: बैशाख महिनाको अन्तिम साताबाट सकिनेछ । हालको कार्यतालिका अनुसार काम भए बैशाख मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावट विद्युत उत्पादन सुरु हुनेछ । त्यसपछि क्रमश विद्युत उत्पादन क्षमता बढाउँदै लगिनेछ ।
कथमकदाचित उक्त समयमा सम्भव नभए जेठ महिनाबाट विद्युत उत्पादन सुरु भै छाड्ने आयोजनाका अधिकारीहरुको विस्वास छ । यही चैत्र १६ गतेसम्म सिभिल संरचनाहरुको परीक्षण हुने आयोजनाले जनाएको छ । हेडवक्स अन्तर्गत ईन्टेकसँग जोडिएको क्लोज कल्भर्ट र बालुवा थिग्र्याउने पोखरीसहित सिभित्र संरचनाहरुको प्राविधिक परीक्षण सुरु भैरहेको हो ।
प्राविधिक परीक्षण सकिएसँगै मुख्य सुरुङ र पेनस्टकमा पानी भरी वेट टेस्टको काम अघि बढाउने तयारी छ । उक्त कार्य आउँदो बैशाख महिनाको पहिलो हप्ताबाट सुरु गरिनेछ ।
यद्यपी अन्तिम समयमा डिजाईन परिवर्तन गरिएका कारण वैशाख पहिलो साताबाट विद्युत उत्पादन गर्ने कार्यतालिका केही पछि धकेलिने भएको छ । परिवर्तित डिजाईन अनुसार एक्स्पान्सन ज्वाईनको ठाउँमा राखिने पेनस्टक पाईप जडान र कंक्रिट गर्ने काममा केही समय लाग्ने भएकाले कार्यतालिका परिवर्तन गर्नुपरेको हो ।
हाल पेनस्टक पाईन जडान र वेल्डिङको काम भैरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । त्यसपछि कंक्रिटको काम हुनेछ । वेल्डिङ र कंक्रिटका लागि झण्डै तीन साता लाग्ने अनुमान छ ।
प्रवक्ता न्यौपानेका अनुसार रामेछापको देवीटारमा निर्माणाधिन २२०/१३२ केभी क्षमताको सवस्टेशनमा उपकरण जडानको काम अन्तिम चरण्मा छ । आयोजना स्थलदेखि उक्त शवस्टेशनसम्म ४७ किलोमिटर लामो प्रसारण लाईन निर्माण कार्य सम्पन्न भैसकेको छ ।
विद्युत उत्पादन सुरु हुने मिति जति ढिला भयो बैंक ऋणको ब्याजका कारण त्यति नै आयोजनाको लागत महँगो पर्दै जान्छ । ३५ अर्ब २९ करोड लागत अनुमान गरिएको आयोजनाको लागत दोब्बर नाघिसकेको छ । उत्पादन मिति नजिकिँदै जाँदा आयोजनाको शेयर मूल्यमा उत्साहजनक बृद्धि भैरहेको छ ।