
काठमाण्डौ – सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु भएको छ । विद्युत प्राधिकरण अन्तर्गत संचालित उक्त प्रसारण लाईन निर्माण कार्य अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । प्राधिकरणले सार्वजानिक सूचना जारी गर्दै कुनैपनि बेला प्रसारण लाईनमा विद्यूत प्रवाह हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
असार ३० गते भोलीदेखि कुनैपनि बखत सो लाईनको पहिलो सर्किटमा विद्युत प्रवाह हुनसक्ने भएकाले सो प्रसारण लाईन तथा टावरको वरपर दायँ बायाा नजान तथा आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ, सूचनामा भनिएको छ ।
४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावर निर्माण कार्य सकिएपछि उक्त लाईनको परीक्षण सुरु गरिएको प्राधिकरणले जनाएको छ । दोलखाका सिंगटी खोला र तामाकोशी नदी बेसिनमा निजी क्षेत्रका निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रणालीमा आवद्ध गर्न सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण गरिएको हो ।
प्रसारण लाईन संचालनमा आउन नसक्दा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाबाट उत्पादित विजुली खेर गैरहेको छ । जसका कारण दैनिक करोडौं रुपैयाँ नोक्सानी भैरहेको छ । प्रसारण लाइनको निर्माण आर्थिक वर्ष २०६५÷६६ बाट सुरु गरिएको थियो ।