
चरिकोट – नेकपा एमालेको भातृ संगठनहरुले दोलखामा प्रधानन्यायधिस चोलेन्द्र शम्शेर जवराको पुत्ला दहन गरेका छन् । सदरमुकाम चरिकोटमा एमालेको भातृ संगठनहरु युवा संघ र अनेरास्ववियुले चर्को नाराबाजी सहित प्रधानन्यायधिस राणाको पुत्ला दहन गरेका हुन् ।
पार्टी कार्यालयबाट निस्किएको जुलुसले प्रधानन्यायधिस बिरुद्ध चर्को नारा लगाउँदै सातदोबाटो पुगेर पुत्ला दहन गरेको थियो । जुलुसमा चोलेन्द्र शम्सेर मुर्दावाद, शक्ति पृथकीकरणको सिद्धान्त लागु गर, राणा शासन चाँहिदैन लगायतका नारा लगाएका थिए ।
प्रधानन्यायधिस राणाको संवैधानिक ईजलासले प्रतिनिधिसभा विघटन बदर गर्दै प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्ने परमादेश जारी गरेका थिए । उक्त निर्णय बिरुद्ध आक्रोसित एमाले भातृ संगठनले आज चरिकोटमा प्रदर्शन गरेको हो ।
पुत्लादहनपछि एमाले युवा नेता हिरा थोकरले संक्षिप्त मन्तव्य राख्दै जनादेशमाथि परमादेशबाट गरिएको हस्तक्षेपले गम्भिर दुष्परिणाम निम्तिने चेतावनी दिए । प्रदर्शनको नेता हरिबंश चौलागाई, युवा विद्यार्थी नेताहरु शक्ति पाठक, राजकुमार ढुंगेल लगायतले अगुवाई गरेका थिए ।