
चरिकोट – जिल्ला समन्वय समिति दोलखाको पदाधिकारी तथा सदस्यमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीचनै प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ तीन दलबीच पदिय भागबण्डामा सहमति भएसँगै गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।
कतिपय जिल्ला समन्वय समितिमा फरक समिकरण बनेपनि दोलखामा सत्तारुढ गठबन्धन दलहरुले पुर्व सहमति कार्यान्वयन गरेर जाने समझदारी गरेका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।
गठबन्धन दलहरुबीच पुर्व समझदारी अनुसार जिससको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा एकिकृत समाजवादी र सबै सदस्य पदमा नेपाली कांग्रेसले मनोनयन दर्ता गराउने सहमति भएको छ । जस अनुसार गठबन्धनबाट प्रमुखमा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकिकृत समाजवादीका दोर्जे शेर्पाको मनोनयन दर्ता हुने नेताहरुले जानकारी दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकामा माओवादी केन्द्रले धोका दिएको भन्दै कांग्रेसले प्रमुख आफुले पाउनुपर्ने दाबी गरेको थियो । तर कांग्रेस उक्त अडानबाट पछि हटेपछि पुर्व सहमति अनुसार मनोनयन दर्ता हुन लागेको हो ।
यसैगरी नेकपा एमालेले जिसस पदाधिकारी तथा सदस्यका लागि एकल मनोनयन दर्ता गराउँदैछ । एमालेबाट प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा गोमा केसीले उम्मेदवारी दिँदैछन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जिसस पदाधिकारी र सदस्य पदमा मनोनयन दर्ताको कार्यतालिका सार्वजानिक गरिसकेको छ । असार १ गते हुने निर्वाचनका लागि विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
जिसस प्रमुख, उपप्रमुख दुई जना तथा ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य चयनका लागि निर्वाचन हुनेछ । निर्वाचनमा जिल्लास्थित ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदान गर्न पाउनेछन् । जसमा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसको १ मत रहेको छ ।