
काठमाडौं । साझाबोली डटकमका प्रधान सम्पादक लक्ष्मण थामी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले तेस्रो लोकप्रिय ४३७३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी बख्तियार अलिले २११६ मत प्राप्त गरे । उनीहरुबीच २२५७ को मतान्तर छ ।
प्रधान सम्पादक थामी झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । महासंघको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत भने उपाध्यक्ष नितु पण्डितले प्राप्त गरेकी छन् ।
महिला उपाध्यक्षको प्रतिस्पर्धामा पण्डितले ४७०५ मत प्राप्त गरेकी हुन् । यो निर्वाचनमा उनले पाएको मत नै सबैभन्दा बढी हो । उनको प्रतिस्पर्धामा रहेकी गंगा पौडेल बरालले २६४४ मत प्राप्त गरेकी छन् ।
दोस्रो लोकप्रिय मत केन्द्रीय सदस्यतर्फ मधेशी महिलाबाट ललिता साहले प्राप्त गरिन् । पदाधिकारीमा प्रेस चौतारी पक्षबाट अध्यक्ष निर्मल शर्मा,उपाध्यक्ष नितु पण्डित र आदिवासी जनजाति सचिव सविन प्रियसन चौधरी तीनजनाले जितेका छन् ।
प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, समावेशी उपाध्यक्ष उमिद बागचन्द, महासचिव राम प्रसाद दाहाल, सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, अशोक तिवारी, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुलीले जितेका छन् ।
त्यस्तै कोषध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारीले जितेका छन् भने लेखा समिति संयोजकमा प्रेस चौतारीका केसी लामिछाने निर्वाचित भएका छन् । यस हिसाबले महासंघको पदाधिकारीमा तीनवटा मुख्य संगठनको प्रतिनिधित्व कायम भएको छ ।