
चरिकोट । बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ दोलखामा प्रदर्शन हुने भएको छ । ओजस थिएटरले आगामी मङ्गलबारदेखि उक्त नाटक प्रदर्शन गर्न लागेको हो । हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई केन्द्रित गरी नाटक प्रदर्शन गर्न लागिएको हो ।
ओजस थिएटर काठमाण्डौंका प्रबन्ध निर्देशक सागर कार्कीका अनुसार नाटक पुस १६ गतेदेखि २१ गतेसम्म प्रदर्शन हुनेछ । चरिकोट आसपासका लागि गौरीशङ्कर बहुमुखी चरिकोट, बैतेश्वर गाउँपालिका आसपासका लागि हनुमन्तेश्वर माध्यामिक विद्यालय मैनापोखरी र जिरी आसपासका लागि जिरी माध्यामिक विद्यालय जिरीमा प्रदर्शन हुने उनले जानकारी दिए ।
अभिनयमार्फत नाटक र नाट्यशालाको बारेमा जानकारी दिनुका साथै वर्तमान समाजको चित्रण गरेर देखाउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । एचवि मगरको परिकल्पना गरेको नाटकको निर्देशन रविन दोङले गरेका छन् ।
रोल्वालिङ मिडिया चरिकोटसँगको सहकार्यमा दोलखाका विभिन्न ठाउँमा प्रदर्शन हुन लागेको नाटक विद्यार्थीसहित करिब २ हजार दर्शकमाझ पु¥याउने आयोजकको अनुमान छ । प्रत्यक्ष अभिनयसहित मिनी नाट्यशालाको झल्को दिनेगरी प्रदर्शन हुने नाटक दोलखाली विद्यार्थी र दर्शकहरुका लागि नयाँ स्वाद हुने स्थानीय सहआयोजक रोल्वालिङ मिडिया प्रालिका अध्यक्ष तारा बहादुर महतले बताए ।
बहुचर्चित उपन्यास ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपाली विषयमा पठनपाठन हुँदै आएको छ । नाटक विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको भएपनि पुस २० गते शनिबार बाहिरी दर्शकहरुक लागि विशेष शो हुने भएको छ । नाटक हेर्नका लागि विद्यार्थीका लागि ३ सय रुपैयाँ र अन्य दर्शकका लागि ४ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।