Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अपर तामाकोशी र दुगड समुहको काममा प्रश्न उठेपछि फिल्ड अध्ययनमा पूर्वमन्त्री गुरुङ
स्थलगत निरीक्षण गर्दै पुर्वमन्त्री पार्वत गुरुङ । तस्बिर: दिलीप खड्का

चरिकोट । पुर्ब संचार तथा सूचना प्रबिधि मन्त्री पार्वत गुरुङले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र एमभी दुगड समुहले निर्माण गरिरहेको सडकमार्गको अध्ययन सुरु गरेको बताएका छन् । स्थलगत निरीक्षणपछि उनले तामाकोशी आयोजना र आयोजनाको बाँधस्थल माथि निर्माण गरिएको सडकमार्गको गम्भीर अध्ययन जरुरी रहेको प्रतिक्रिया दिए । 

‘जिल्लाबासीको सम्पुर्ण त्यागले अपर तामाकोशी बनेको हो, तर यो सदासयता लत्याएर मनोमानी गरिएको छ, अब यसको गहिरो अध्ययन हुन्छ, उनले भने । आयोजना महंगो बनाउने र जनताले लाभ पाउन नसकेको विषयमा पनि अध्ययन आवश्यक रहेको उनको भनाई छ।

IMG-20250208-WA0019-1739151248.jpg
एमाले पोलिट व्यूरो सदस्य समेत रहेका पुर्वमन्त्री गुरुङ गाउँपालिका अध्यक्ष संजिव ओली र उपाध्यक्ष देविका थामीलाई साथमा लिएर फिल्ड फिजिटमा पुगेका हुन् । 

यो आयोजना र सडकमार्ग विगु गाउँपालिका–१, लामाबगरमा पर्दछ । दुगड समुहको स्वामित्व रहेको नासा हाईड्रोले राज्यको अनुमति र मापदण्ड बिपरित सडक निर्माण गरिरहेको, उक्त सडकमार्गले तामाकोशी आयोजनाको बाँधस्थलमा जोखिम बढाउँदापनि आयोजना मौन बसेको भन्दै स्थानीय स्तरमा बिरोध भैरहेको छ ।  

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी पुँजीमा बनेको मुलुककै सबैभन्दा ठुलो आयोजना हो । आयोजना ड्यामसाईटको दायाँ किनार तर्फबाट दुगड समूहले सुरुङसहितको सडकमार्ग निर्माण गरिहेको छ । सडकमार्ग निर्माणका क्रममा खसेको ढुंगामाटो र सुख्खा पहिरोका कारण आयोजनाको ड्यामसाइट साँघुरिन थालेको र जोखिम बढेको स्थानीय बताउँछन् । 
IMG-20250208-WA0023-1739151311.jpg
गत जेठ महिनामा सडक निर्माण क्षेत्रबाट झरेको सुख्खा पहिरोले तामाकोशी नदी तीन घण्टाभन्दा बढी थुनिएको थियो । जसका कारण नदी तटीय क्षेत्रमा त्रास बढेको थियो भने आयोजना बन्द गर्नुपरेको थियो । 

प्रवेशमार्ग निर्माणका क्रममा वातावरणीय, भौतिक तथा मानवीय क्षति भैरहँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयको आरोप छ । एमभी दुगड समूहको स्वामित्व रहेको नासा हाइड्रोले १६० मेगावाटको लप्चीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना स्थल पुग्न पहुँचमार्ग निर्माण भैरहेको हो ।  
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update