काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रवेश परीक्षा दिन नपर्ने भएको छ । सीटीइभीटीले माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडिङको आधारमा विद्यार्थी छनोट गर्ने भएको हो । विद्यार्थीको नाम निकाल्न हुने चलखेल अन्त्य गर्न यो प्रावधान ल्याईएको अधिकारीहरुको दाबी छ ।
आर्थिक वर्ष २०८२र८३ देखि लागु गर्नेगरी विद्यार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । सीटीईभीटीका निर्देशक दामोदर पौडेलका अनुसार अब एसईईमा विद्यार्थीले पाएको ग्रेडिङको आधारमा छनोट गरिने छ ।
यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई आधार मानेर मेरिटको आधारमा विद्यार्थी छनोट गर्ने गरिएको थियो । तर, एसईई सकिएलगत्तै विद्यार्थीले अर्का कक्षा नपढेकाले फेरि प्रवेश परीक्षा दिनु नपर्ने निष्कर्षसहित सीटीईभीटीले प्रवेश परीक्षा नलिने निर्णय गरेको हो ।
सामुदायिक विद्यालय र निजीका विद्यार्थीबीच एकरूपता बनाउन सामुदायिकबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीको जीपीएमा १ अंक र निजीको विद्यार्थीलाई ०।८५ अंक थप गरेर योग्यताक्रम निर्धारण गर्नेगरी निर्देशिका बनाइएको पाठ्क्रम विकास केन्द्रका निर्देशक विनोद बडालले बताए ।