
चरिकोट – अतिसिमान्तकृत थामी समुदायको राष्ट्रिय संग्रहालयको मौलिकताबारे चिन्ता व्यक्त हुन थालेको छ । थामी समुदायको उद्गम थलो मानिएको भीमेश्वर नगरपालिका वडा नम्बर–१, सुस्पाक्षमावती स्थित राङराङथलीमा संग्रहालय बन्दैछ । संग्रहालय स्थलमा यसअघि बनेका र अब बन्ने संरचनामा थामी समुदायको मौलिक पहिचान झल्किनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
थामी समुदायको साझा संस्था नेपाल थामी समाजले थामी जातीको ऐतिहाँसिक, पुरातात्विक, धार्मिक, मौलिक सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्नेगरी संग्रहालयको संरचना निर्माण गर्न ध्यानाकर्षण गराएको छ । नगरपालिकाका मेयर भरत केसिलाई भेटेर थामी समाज जिल्ला कार्यसमिति दोलखाका प्रतिनिधि मण्डलले थामी समुदायको अस्तित्व र पहिचानलाई जिवन्त राख्ने ऐतिहाँसिक धरोहर संग्रहालयको मौलिकता गुम्न दिन नहुने, सरोकारवाला पक्षसँग आवश्यक समन्वय हुनुपर्ने लगायतका विषयमा सचेत गराएको हो ।
संग्रहालय निर्माणका लागि चालु आर्थिक वर्ष ७ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । नगरपालिकाका अनुसार टेन्टर प्रक्रिया मार्फत उक्त बजेटको काम अघि बढ्नेछ । थामी समुदायको पुर्खाको रुपमा लिईने यापती छुकु र सोनारी बज्यु सुरुमा बसोवास गरेको र विभिन्न गतिविधि गरेको स्थानमा संग्रहालय बनाउन लागिएको हो ।
नेपाल थामी समाजका पुर्व केन्द्रिय महासचिव भव बहादुर थामीले ठुलो आकारमा बजेट विनियोजन हुनु आफैमा खुसिको कुरा भएपनि त्यसको प्रतिफल राम्रो हुनुपर्ने बताए । ‘संग्रहालयमा आधुनिकता झल्किने र मौलिकता गुम्ने अवस्था आयो भने ठुलो बजेटको अर्थ नहुनसक्छ, त्यसैले सकारात्मक प्रतिफल ल्याउन सबै सचेत हुन जरुरी छ, उनले भने ।’
संग्रहालय स्थलमा हाल एउटा भवन, तिलकपोखरी, हाईकिङ, तारवारसहितको संरचना बनिसकेको छ । मेयर केसिसँगको भेटमा थामी समाज दोलखाका बरिष्ठ उपाध्यक्ष होम थामीले संग्रहालयलाई विश्वभरका थामी समुदायको साझा आस्थाको केन्द्रको रुपमा विकास गर्न मौलिक पक्षलाई विशेष ध्यान दिन र आवश्यक समन्वय गर्न आग्रह गरे ।
जवाफमा मेयर केसिले थामी संग्रहालय निर्माण गर्न पाउनु नगरपालिकाको गौरवको विषय भएको भन्दै मौलिकता नगुम्नेगरी निर्माण कार्य अघि बढाउने प्रतिवद्धता जनाए । ‘संग्रहालयको स्वरुपमा कसरी थामी जातीको मौलिकता झल्काउन सकिन्छ भन्ने विषयमा छलफल भैरहेको छ, उनले भने, सरोकारवालाहरुको सुझावकै आधारमा काम अघि बढाउँछौं ।’
थामी समाजको टोलीले संग्रहालय, थामी समुदायको लागि नीति, कार्यक्रम र बजेटमा विशेष व्यवस्था, गरिब घरपरिवार पहिचान तथा आसन्न राष्ट्रिय जनगणनामा थामी जातीको वास्तविक तथ्यांक आउने वातावरण बनाउन मेयरको ध्यानाकर्षण गराएको थियो ।
टोलीमा थामी समाजका केन्द्रीय महासचिव लक्ष्मण थामी, दोलखा जिल्ला कार्यसमितिका बरिष्ठ उपाध्यक्ष होम बहादुर थामी, सचिव देविका थामी, सह सचिव विकास थामी, कोषाध्यक्ष हिरामाया थामी, सोम बहादुर थामी, शिक्षक उद्धब थामी लगायतको सहभागिता थियो ।