
काठमाण्डौं — पत्रकार महासंघको यही चैत्र २५ गते हुने महाधिवेशन र निर्वाचनको सरगर्मी निकै बढेको छ । महासंघमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार मतदान हुँदैछ । देशभरका १३ हजार भन्दा बढी सदस्यहरु मतदानमा सहभागि हुँदैछन् ।
महासंघको अध्यक्ष सहित ४७ सदस्यीय केन्द्रीय समिति र ३ सदस्यीय लेखा समितिका लागि धेरैको उम्मेदवारी परेको छ । अध्यक्षका लागि मात्रै ४ जना चुनावी मैदानमा छन् भने महासचिवका लागि ३ जना र अन्य पदमा पनि त्यत्तिकै संख्यामा उम्मेदवार छन् । तीनै मध्ये महासंघको विद्यान अनुसार अल्पसंख्यकक कोटातर्फका एकजना उम्मेदवार हुन् लक्ष्मण थामी ।
निर्वाचनमा एउटा प्यानलबाट उम्मेदवारी दिएपनि पनि उनी आफु साझा उम्मेदवार भएको दावी गर्छन् । पत्रकार महासंघ दोलखा जिल्ला शाखाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनले सबैजसो संघसंगठनको साथ रहेको बताए । “प्यानलबाटै उठ्नुपर्ने परिस्थिति देखियो, तर प्रेस चौतारी, युनियन, प्रेस सेन्टर लगायत संघ सगठनको प्रत्यक्ष/परोक्ष साथ छ, त्यसैले आफु साझा उम्मेदवार हो, उनले भने ।” उनी थामी समुदायको साझा संस्था नेपाल थामी समाजका केन्द्रीय महासचिव समेत हुन् ।
उनी झण्डै डेढ दशकदेखि विद्युतीय, छापा तथा अनलाईन संचारमाध्यममा क्रियाशील छन् । मोफसलको रेडियोमा करिव ७ वर्ष समाचार सम्पादन तथा कार्यक्रम प्रस्तोताका रुपमा काम गरेका थामी राष्ट्रिय समाचार समिति, एविसी टेलिभिजनमा काम गरिसकेका छन् । उनी हाल साझावोली अनलाईन र निरीक्षण साप्ताहिक पत्रिकाको प्रधान सम्पादकको भूमिकामा छन् भने प्रकाशक, सम्पादक समाज दोलखाको सचिव समेत भैसकेका छन् ।
“महासंघ जिल्ला शाखाको नेतृत्व तहमा लामो समय काम गरेको अनुभव छ, उनले भने आम श्रमजीवि पत्रकारहरुको पेशागत हकहित र अधिकार, भौतिक सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि लड्ने संकल्प र प्रतिवद्धता सहित यो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।” सोही पदमा मुस्लिम समुदायका ईकबाल अहमद र सिराजुद्धिन खानको पनि उम्मेदवारी छ ।