
काठमाडौँ — सरकारले दश वर्षे सशस्त्र जनयुद्ध, २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने तयारी गरेको छ ।
गृहमन्त्री राम बहादुर थापा बादलको पहलमा जनयुद्ध र विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्धन्द्धपिडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाईते तथा पीडितलाई सम्मान गर्ने तयारी भएको हो । ‘अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका संघर्षमा सहभागी भई योगदान पुर्याउनेहरुलाई सम्मान गर्ने तयारी भएको गृहमन्त्रालय स्रोतले बतायो ।
१० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई समेत सम्मान गरिनेछ । त्यसपछि लोकतन्त्रका योद्धा सम्मानसम्बन्धी काम गर्न चैत पहिलो साता मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरेको थियो ।
जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा सचिवालय स्थापना गरेर विवरण संकलनको काम गरिरहेको छ । विवरणलाई अन्तिम रूप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने छ । सम्भवतः यसबारे नेपाली नयाँ वर्ष २०७८ वैशाख १ वा लोकतन्त्र दिवसमा निर्णय हुन सक्ने गृहका अधिकारीले जानकारी दिए ।
हाल ९ हजारभन्दा बढीका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिइसकेको छ । गृहका अनुसार ७ सय ५५ जनाले सरकारबाट मासिक जीवन निर्बाह भत्ता लिइरहेका छन् । ज्यान गुमाएका व्यक्तिको हकमा परिवार र अरू प्रत्यक्ष पीडित र विस्थापितलाई प्रमाणपत्र, परिचयपत्र, दोसल्ला ओढाएर सम्मान र सम्भव भएसम्म आर्थिक सहयोगसमेत दिने गरी अभिलेख अद्यावधिक गर्न लागिएको छ ।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा सहभागी भएर पछि सेना समायोजन प्रक्रियाबाट स्वैच्छिक अवकाश रोजेका, अयोग्य र बाल छापामारलाई पनि लोकतान्त्रिक योद्धाको सम्मान दिने सरकारको तयारी छ । द्वन्द्वका क्रममा विस्थापित भएका, सरकारी पक्षबाट जनधन गुमाएका तर यसअघिको विवरणमा छुटेकालाई यस पटक समावेश गर्न लागिएको छ ।